गफ होइन काम गरेर देखाउँछु


कमलकृष्ण पौडेल
कलाकार तथा निर्देशक

भर्खरै मलेशियामा भ्रमण गरेर आउनुभएको छ, त्यहाँ बस्ने नेपालीहरूको नेपाली चलचित्रप्रति कस्तो धारणा पाउनुभयो ?

त्यहाँ बस्ने नेपालीहरूले नेपाली चलचित्र एकदमै हेर्न चाहान्छन् । नेपाली चलचित्र राम्रो बन्दै गइरहेको छ, विस्तारै सुदृढ हुने क्रममा छ भन्ने उनीहरूको बुझाई छ । नेपाली चलचित्रप्रति सबैको मायाँ छ । नेपाली चलचित्रहरू त्यहाँ राम्रो चल्छन्, ती चलचित्रहरू फिल्म हलमा होईन, रेष्टुरेण्टको भित्तामा देखाईन्छ । त्यहाँका नेपालीहरूले नेपाली चलचित्र अरु हिन्दी, तामील, अंग्रेजी जस्तै चलचित्र भवनमा गएर हेर्न चाहेका छन् । अब त्यो चाहाना मैले मेरो फिल्म ‘प्राणभन्दा प्यारो’बाट पुरा गर्र्दैैछु । नेपाली चलचित्र अब मलेशियामा चलचित्र भवनमै चल्छ, मैले त्यहाँको संस्कृति मन्त्रीसँग पनि कुरा गरेको छु ।

मलेसिया सरकारको नेपाली चलचित्रप्रतिको दृष्टिकोण कस्तो पाउनुभयो ?

मलेसिया सरकार नेपाली चलचित्रप्रति निकै सकारात्मक रहेको प्रतिक्रिया पाएको छु । त्यहाँको संस्कृतिमन्त्रीबाट कुनै कम्पनीसँग सहकार्य गर्नुस्, हामी नेपाली चलचित्र हलमै चलाउने वातावरण
मिलाउछौं भन्ने आश्वासन पाएको छु । मैले त्यहाँको नेक्सेस कम्पनीसँग सम्झौता पनि गरिसकेको छु र मैले फिल्मको ३० प्रतिशत छायाँकन पनि मलेशियामै गरें ।

चलचित्र प्राणभन्दा प्यारा कहिले प्रदर्शनमा आउँदैछ त ?

जेष्ठ अन्तिममा नेपाल र मलेशियाको सिनेमा हलहरूमा एकै साथ प्रदर्शन गर्दैछु ।

खर्च त निकै भयो होला नि यो फिल्म बनाउन ?

छैन । राम्रो सिनेमा बनाउन धैरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । हाम्रो आफ्नै नेपाली परिवेशबाट थोरै लगानीमा राम्रो सिनेमा बनाउन सकिन्छ भन्ने कुरा मैले यो चलचित्रबाट प्रमाणित गर्दैछु ।

अहिले नेपाली चलचित्र क्षेत्र नेपाली समाजबाट निकै आलोचित भईरहेको छ नि ?

हो, पछिल्लो समयमा केही नेपाली चलचित्रकर्मीहरूले समाजमा नपच्ने, अश्लिल किसिमका चलचित्र बनाउनुभयो त्यसैकारणले अलोचित हुनुपरेको हो । तर, सबै चलचित्र त्यस्ता छैनन् । दर्शकहरूले छानेर सिनेमा हेर्ने गरिदिनुभयो भने त्यस्तो अश्लिल चलचित्र र चलचित्रकर्मीहरू आफै विस्थापित भएर जानेछन् ।

सबैले आफ्नो सिनेमा नयाँ धारको भनेर दावी गर्छन्, तपाईको चाँहि कस्तो धारको हो ?

मेरा बुझाईमा सिनेमाको धार एउटा मात्रै हुन्छ ‘मनोरञ्जन’ । तर, अहिले हामीकहाँ मनोरञ्जनको नाममा महिला कलाकारलाई नंग्याउने, छाडा शब्द प्रयोग गर्ने, अश्लिल गालिगलौज गर्ने प्रवृत्ति हावी भइरहेको छ । मनोरञ्जन भनेको त्यो होईन । मेरो सिनेमाको धार मनोरञ्जन हो र यसमा भरपुर मनोरञ्जन छ ।

अहिले चलचित्रकर्मीहरू राम्रो फिल्म बनाउनभन्दा पनि धेरै फिल्म बनाउने तर्फ केन्द्रित छन्, यसमा तपाई के भन्नुहुन्छ ?

सबैभन्दा पहिले त राम्रो सिनेमा बनाउन राम्रो सोच भएको मान्छे चहिन्छ, हामीकहाँ काम भन्दा गफ बढी हुन्छ, एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति धेरै छ । सबै चलचित्रकर्मीहरू एक भएर राम्रो सोच्यौं भने अवश्य राम्रो चलचित्र बन्छ ।

अन्त्यमा...
सधै सकारात्मक सोचौं, राम्रो फिल्म बनाउ, दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाउँ यति नै हौ ।