अन्तराष्ट्रिय नेपाली कलाकार समाजद्वारा उत्कृष्ट ५ चलचित्र सार्वजनिक छ



अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) जर्मनीले आगामी १४ अप्रिल २०१३ का दिन जर्मनीको हाम्बर्गमा आयोजना गर्न लागेको "वर्षको सर्वोत्कृष्ट नेपाली चलचित्र अवार्ड" (INAS the Best Film of the Year Award) का लागि आव्हान गरेको चलचित्रहरु मध्ये उत्कृष्ट ५ (Top 5) मा परेका चलचित्रहरुलाई सार्वजनिक गरेको छ । सन २०१२ भित्र
प्रदर्शनमा आएका चलचित्रहरुमध्येबाट छानिएका ५ उत्कृष्ट चलचित्रहरुमा मालतिको भट्टी, सायद, अन्दाज, लूट र काठमाण्डु रहेका छन । 

नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डका लागि छनौट गर्ने चलचित्रहरुबाटनै चलचित्र सम्बन्धि विज्ञहरुबाट छनौट गरी पठाइका उक्त चलचित्रहरुमध्ये सर्वोत्कृष्ट चलचित्र छनौंटमा आम दर्शकहरुको समेत सहभागीता रहोस् भन्ने उद्देश्यले उक्त चलचित्रहरुलाई अनेकस फेसबुक पेजमा  https://www.facebook.com/pages/INAS-the-Best-Film-of-the-Year-2013/163701670452758 राखेको छ । यस लिंकलाई खोलेर त्यहाँभित्र रहेका ५ चलचित्रहरुमध्ये आफूलाई मन परेको चलचित्रमा मत दिन (लाइक गर्न) सकिने अन्तराष्ट्रिय नेपाली कलाकार समाजले जनाएको छ । ६ वर्षदेखि लगातार नेपाली फिल्म अवार्ड (NEFTA AWARD) संचालन गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले छैठौ नेफ्टा अवार्डका लागि परेका चलचित्रहरुमध्ये उत्कृष्ट चलचित्र अनेकस (INAS) लाई जर्मनीमा हुने "बेस्ट फिल्म अफ द एअर" अवार्डका लागि उपलब्ध गराउने सहमती अनुसार उक्त चलचित्रहरु पठाइएको हो । यी दूई संस्थाहरुले अघिल्लो महिना यससम्बधी सहमति गरेर गरी संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।  

दर्शकहरुले सार्वजनिक गरिएका यि चलचित्रहरु मध्ये आफूलाई मन परेको चलचित्रमा यही ३० मार्च २०१३ को साँझ ७ बजेभित्र मत जाहेर गरिसक्नुपर्ने गरी अवधि तोकिएको छ । उक्त अवधिभित्र सबैभन्दा बढी लाइक प्राप्त गर्ने चलचित्रले कूल अंकको २०% अंक प्राप्त गर्ने र बाँकी ८०% अंक अनेकसको नेपाली चलचित्र बिकास तथा प्रवर्द्धन समिति (Film Development and Promotion Committee) ले प्रदान गर्ने जानकारी गराइएको छ । यी दूवै प्रकृयाबाट सबैभन्दा उत्कृष्ट ठहरिएको चलचित्रलाई अनेकस वर्षको सर्वोत्कृष्ट चलचित्रको रुपमा १४ अप्रिल २०१३ का दिन जर्मनीमा आयोजना गर्न लागिएको युरोपस्तरीय भव्य र बिशाल कार्यक्रमका बीच उच्च सम्मान गर्दै अवार्ड प्रदान गरिने जानकारी अनेकस जर्मनीले गराएको छ ।


यो पटक युरोपबाट बनेका चलचित्रहरुलाई समेत बिशेष सम्मान प्रदान गरिने भएको छ । प्रवासबाट नेपाली चलचित्र क्षेत्रमा अझ बढी सहभागीता होस् र उत्कृष्ट चलचित्र निर्माणमा प्रवासी नेपालीहरुको आकर्षण अझ बढोस् भन्ने उद्देश्यले यसप्रकारको सम्मान गर्न लागिएको हो । यसरी सम्मानित हुने चलचित्रहरुमा लक्जम्बर्गका रमेश त्वयनाको हासीदेऊ एकफेर, फ्रान्सका सुवर्ण थापाको सुनगाभा, बेल्जियमका देबु श्रेष्ठको थ्री लभर्स, नेदरल्यान्डसका मदन केसीको रङ्ग र युकेका धुव दत्तको द प्लान रहेका छन ।    

"युरोपस्तरीय एकल नृत्य प्रतियोगिता २०१३" समेत आयोजना गरिने यस कार्यक्रमलाई भव्य रुपमा सफल  बनाउने  तयारी जोडतोडका साथ भैरहेको अनेकस जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङ र ब्यबस्थापन समितिका संयोजक तथा   अनेकस जर्मनीका उपाध्यक्ष सरोज श्रेष्ठले जानकारी गराउनुभएको छ ।  यो कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको र सारा नेपालीहरुले जर्मनीको यस कार्यक्रममा चासो राखेकोले यो कार्यक्रमले जर्मनीबासी नेपालीको इज्जत राख्ने कुरामा कुनै दूईमत नभएको बताउदै यस्तो बिशाल कार्यक्रमलाई जर्मनीमा आयोजना गर्ने अभिभारा सुम्पिएकोमा उहाँले अनेकसको केन्द्रिय समितिका  अध्यक्ष पुष्प बरुवाल लगायत सबै पदाधिकारीहरुलाई हार्दिक धन्यवाद समेत दिनुभयो