अब अर्की सुष्मा


न  सिनेमाका पर्दामा भल्गारिटी पस्कियो भने नाम कमाइन्छ अनि सबैबाट वाहवाही कमाइन्छ भन्ने सुष्मा कार्कीको सोच र योजना यतिबेला आएर 'फेल' खाएको छ। अभिनय क्षमताभन्दा शरीरका संवेदनशील अङ्गहरू प्रस्तुत गर्ने मामिलामा अगाडि देखापरेकी सुष्मालाई विशेष गरेर चलचित्र लुटले चर्चामा ल्याएको हो। यो चलचित्रमा 'उध्रेको चोली...' बोलको गीतमा नाचेपछि बजारमा छाएकी सुष्माको लुटमा त चोली उध्रेको मात्र थियो तर त्यसपछिका चलचित्रहरूमा उनको चोली उध्रेकोमा मात्र सीमित रहेन। चर्चामा आउने उनको सपनामा भने अहिले आएर तुषारापात भएको छ। एउटै गीतबाट देशदेखि विदेशसम्म घुम्ने अवसर पाएकी सुष्मा यतिबेला कोठामा नै थन्किएर बसेकी छिन्। ग्ल्यामर्सको नाममा भल्गारिटी प्रस्तुत गर्न उत्तेजित हुन थालेपछि सुष्माको साख क्रमशः गिर्दै जान थालेको हो। सिनेमामा कुनै 'आइटम' गीत छ भने उनलाई सम्झीहाल्ने निर्माता, निर्देशकहरू पनि अहिले सुष्माको नाम लिन चाहँदैनन्। उनीहरूको भनाइ भने यस्तो छ, 'जति देखाउनु देखाइसकिन् सुष्माले। अब उनको हेर्न बाँकी केही पनि छैन।' त्यसो त सिनेमाको पर्दामा सुष्माको प्रवेश पनि नकारात्मक उपस्थितिबाट हुनुले पनि यो क्षेत्रमा उनको निरन्तरता नहुन सक्ने कुराको अनुमान लगाउन सकिन्थ्यो। त्यही अनुमान अहिले सुष्मा हात खाली हुनुबाट सही निस्किएको छ। यता सुष्मा कार्कीको अवस्था यस्तो छ भने अर्कोतर्फ अर्की सुष्मा अर्थात् सुष्मा अधिकारीको आगमनले भने राम्रो सङ्केत देखाएको छ। सिनेमा खेल्ने लोभ र लालचमा जसरी पनि प्रस्तुत हुने विचार र सोचको विरुद्धमा छिन् उनी। लगभग दुई दर्जन म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी सुष्माले टेलिभिजन र पेपर विज्ञापनमा पनि राम्रै स्थान पाएकी छिन्। म्युजिक भिडियो खेल्ने क्रममा पनि उनलाई केही सिनेमाबाट नायिकाको अफर नआएको होइन। 'तर पनि राम्रो कथा र व्यानरको पर्खाइमा थिएँ म। त्यो पर्खाई यतिबेला आएर पूरा भएको छ,' यसै भनिन् सुष्माले। त्यसो त सिनेमाहरूबाट धेरैपटक उनलाई 'आइटम' गीतबाट पनि प्रस्ताव आएका थिए। तर, उनले मानिनन्, किन त? 'यस्तो गीतमा काम गरेपछि छाप नै त्यस्तै हुन्छ र पछि अन्य भूमिकातिर खेल्न पाइन्न। त्यसकारणले पनि म आफ्नो परिचय सीमित राखेर उद्देश्यलाई मार्न चाहन्नँ,' सुष्मा अधिकारीले भनिन्।प्रतीक्षाको फल मीठो हुन्छ भनेजस्तै सुष्माले पनि धैर्य गरेपछि अहिले आएर मीठो फल पाएकी छिन्। एउटा स्वच्छ, भद्र र शालीन चलचित्रमा एकल नायिकाको रूपमा आउने भएकी छिन् उनी। आइतबार मात्र सुष्मा चलचित्र 'पीपल'मा नायिकाको रूपमा अनुबन्धित भएकी छिन्। निरञ्जन कसजु 'माइला दाइ'को निर्देशन रहने यो चलचित्रका कार्यकारी निर्मातामा सचिनराज अमात्य रहेका छन् भने 'पीपल'मा सुभाषराज काफ्लेको निर्माण नियन्त्रण रहेको छ। नामजस्तै कथा अनि युनिट पनि शालीन भएपछि नै सुष्माले यो चलचित्रमा काम गरेको कुरा बताइन्। उनले भनिन - 'हिरोइन बन्ने इच्छामा नाङ्गिने र भल्गारिटी प्रस्तुत गर्ने सोच र उद्देश्य मेरो होइन। थोरै फिल्म खेल्ने तर राम्रो खेल्ने मेरो योजना हो।'